मेचीनगर। ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ मेचीनगर नगरपालिकामा १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत प्रभातफेरि तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ।
मेचीनगर नगरपालिकाको आयोजना तथा काँकरभिट्टा नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध रोकथामका क्षेत्रमा कार्यरत संघसंस्थाहरूको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विभिन्न सरोकारवाला संघसंस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी निकायका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

काँकरभिट्टास्थित इलाका प्रहरी कार्यालयबाट सुरु भएको प्रभातफेरि र्याली बजार परिक्रमा गर्दै हनुमान मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभासँगै कार्यक्रम सम्पन्न गरिएको थियो।
कोणसभामा पुरुष सञ्जालका अध्यक्ष तथा पत्रकार मोहनकाजी न्यौपाने, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) निशेष चापागाईं तथा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीलगायतले लैंगिक हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले लैंगिक हिंसामा परेका पीडितको संरक्षण, हिंसाका घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने, दण्डहीनताको अन्त्य गर्ने तथा पीडितलाई न्यायको सुनिश्चितता गराउन राज्यका निकाय, संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
लैंगिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता जनाउने तथा पीडितलाई न्याय र संरक्षणको पहुँचमा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।