झापा। प्रदेश इसाई समाजको आयोजनामा आगामी पौष ५ गते आयोजना हुन लागेको प्रदेशस्तरीय बृहत् ख्रीष्टमस कार्यक्रमलाई भव्य, सभ्य, शान्तिपूर्ण र ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यले आज रोयल सिमाना होटलमा बृहत् छलफल सम्पन्न भएको छ।
मेचीनगर इसाई समाजको समन्वयमा आयोजित छलफलमा मेचीनगर क्षेत्रका रेभरेण्ड, पास्टर, इसाई समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। छलफलमा कार्यक्रमको उद्देश्य, व्यवस्थापन, सहभागिता, प्रचारप्रसार, सुरक्षा, सांस्कृतिक प्रस्तुति तथा विभिन्न जिम्मेवारीका विषयमा व्यापक विचारविमर्श गरिएको थियो।

कार्यक्रमका संयोजक पास्टर राजकुमार राईले कार्यक्रमको मुख्य उद्देश्य ख्रीष्टको सुसमाचार प्रचार गर्नु रहेको स्पष्ट पार्दै मौन र्यालीसमेत आयोजना गरिने जानकारी दिनुभयो। उहाँले कार्यक्रमलाई कुनै व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा माथि राखेर ख्रीष्टको प्रेम, शान्ति र सुसमाचारलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो।
प्रदेश इसाई समाजका उपाध्यक्ष पास्टर आकाश थुलुङले यो कार्यक्रम कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई सम्पूर्ण इसाई समुदायको साझा कार्यक्रम भएको उल्लेख गर्दै सबैको सहकार्य र सहभागिता आवश्यक रहेको बताउनुभयो। साथै, राज्यले इसाई समुदायलाई पनि सम्मानजनक व्यवहार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
छलफलको सञ्चालन मेचीनगर इसाई समाजका अध्यक्ष पास्टर राजु खड्काले गर्नुभएको थियो। एल्डर रमेश गुरुङले कार्यक्रम सफल बनाउन सबैले तन, मन र वचनले समर्पित भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, रेभरेण्ड गाेपाल खनालले कार्यक्रमलाई शान्तिपूर्ण, प्रार्थनामय र सुसमाचारमुखी बनाउन सबै एकजुट हुनुपर्ने बताउँदै ख्रीष्टमसको यस विशेष सिजनलाई उत्साह र आनन्दका साथ मनाउन आग्रह गर्नुभयो।
पास्टर तारा बहादुर तामाङले विभिन्न इलाका तथा क्षेत्रबाट सहभागी हुने समूहहरूको जिम्मेवारी र व्यवस्थापन स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो। पास्टर रामकुमार थापाले सबैको उद्देश्य स्पष्ट हुनुपर्ने बताउँदै कुनै नेता वा व्यक्तिलाई प्रभाव पार्ने उद्देश्यभन्दा पनि ख्रीष्टको सुसमाचारलाई मुख्य प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
मेची इलाका इसाई समाजका सहसचिव सरोज गुरुङले कार्यक्रमको समयमा आवश्यक स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो। मेची इलाका आमादिदीबहिनी समितिकी अध्यक्ष दिलु मुखियाले प्रार्थना र आपसी सहकार्यका माध्यमबाट कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैगरी, झापा जिल्ला युवा इसाई समाजका अध्यक्ष जनक बस्नेतले झापाका युवाहरूलाई कार्यक्रममा सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गर्नुभयो। उहाँले कार्यक्रमसम्बन्धी सूचना तथा अपडेट युवाहरूमाझ निरन्तर पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा चर्चित गायक कर्णदास, अञ्जु पन्तलगायत अन्य गायक तथा कलाकारहरूको सहभागिताका लागि पहल भइरहेको छ। साथै, झाँकी, नाच तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समावेश गर्ने र प्रदेशभित्रका स्थानीय प्रतिभाशाली कलाकारहरूलाई समेत अवसर दिने विषयमा छलफल भएको छ।
छलफलमा सहभागी अगुवा तथा बुद्धिजीवीहरूले कार्यक्रमलाई केवल उत्सवमा मात्र सीमित नराखी इसाई समुदायबीच एकता, प्रेम, सद्भाव, सहकार्य र सामाजिक पहिचान अभिवृद्धि गर्ने साझा अवसरका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए।
प्रदेश इसाई समाजको आयोजनामा हुन लागेको यस प्रदेशस्तरीय ख्रीष्टमस समारोहलाई सफल बनाउन मेचीनगरसहित प्रदेशभरिका चर्च, मण्डली, पास्टर, रेभरेण्ड, युवा, आमादिदीबहिनी तथा सम्पूर्ण इसाई समुदायको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रेम, शान्ति, एकता र ख्रीष्टको सुसमाचारलाई मूल सन्देश बनाउँदै आयोजना हुन लागेको यस कार्यक्रमलाई ऐतिहासिक र स्मरणीय बनाउने लक्ष्य आयोजकले लिएको छ।