पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट निस्किरहेको धुवाँमा विषाक्त कार्बन मोनोअक्साइड रहेको प्रारम्भिक अध्ययनबाट देखिएको छ। खानी तथा भूगर्भ विभागको टोलीले स्थलगत अध्ययन गरेपछि स्थानीयलाई धुवाँ नजिक नजान, नसुँघ्न तथा आसपासको पानी प्रयोग नगर्न आग्रह गरेको छ।
पेलेगा डाँडाको घाँगी भीर क्षेत्रमा लामो समयदेखि धुवाँ निस्किरहेको जानकारीपछि विभागको टोलीले बुधबार स्थलगत अध्ययन गरेको थियो। चट्टान, धुवाँको रङ, गन्ध तथा नमुनाको प्रारम्भिक परीक्षणका आधारमा धुवाँमा कार्बन मोनोअक्साइड रहेको विज्ञहरूले बताएका छन्।
खानी विज्ञ प्रकाश लुइँटेलका अनुसार कार्बनयुक्त चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनको सम्पर्कमा आएपछि हुने रासायनिक प्रतिक्रियाबाट ताप उत्पन्न भएको र त्यसले चट्टानलाई भित्रभित्रै बल्न सहयोग गरेको हुनसक्छ। यस क्रममा सल्फर डाइअक्साइडसहितका ग्याससमेत निस्किन सक्ने बताइएको छ।
स्थानीयका अनुसार पहिरो गएपछि उक्त क्षेत्रमा धुवाँ बढी देखिन थालेको हो। धुवाँ निस्किरहेको स्थान आसपासको जमिन भासिएको छ भने तल बग्ने खोल्सीको पानीसमेत रातो देखिएको छ। उक्त पानीमा एसिडको मात्रा बढी हुनसक्ने भएकाले मानिस तथा पशुपक्षीलाई प्रयोग नगर्न विज्ञहरूले आग्रह गरेका छन्।
कार्बन मोनोअक्साइडको सम्पर्कमा आउँदा टाउको दुख्ने, रिँगटा लाग्ने, कमजोरी हुने, श्वास फेर्न गाह्रो हुने तथा बेहोस हुनेजस्ता समस्या देखिन सक्छन्। उच्च मात्रामा यसको असर ज्यानका लागि समेत जोखिमपूर्ण हुनसक्छ।
स्थानीयका अनुसार पेलेगा डाँडा क्षेत्रमा करिब २०–२२ वर्षअघि पनि यस्तै धुवाँ देखिने गरेको थियो। पछिल्ला चार–पाँच महिनादेखि भने धुवाँ पुनः बाक्लो रूपमा निरन्तर देखिन थालेको छ।