२०८३ मंसिर ०५, शनिबार
मेचीनगर, झापा ।
तरुण राई,
मेचीनगर । श्रम संस्कृति पार्टीले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टाको गैरीगाउँ बर्मेली टोलमा टोल समिति गठन गरेको छ। संगठनलाई स्थानीय तहसम्म मजबुत बनाउने तथा आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीले टोलस्तरमा आफ्नो गतिविधि विस्तार गर्न थालेको हो।
गठन गरिएको गैरीगाउँ बर्मेली टोल समितिको अध्यक्षमा लखन तामाङ चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा दामोदर श्रेष्ठ, कोषाध्यक्षमा कान्छीमाया शेर्मा लिम्बू, सचिवमा दिलहाङ लिम्बू र सहसचिवमा पृथ्वी नेम्वाङ चयन भएका छन्।

समितिका सदस्यहरूमा जयसिंह कार्की, टेकबहादुर थापा, मोहन राई, धीरप्रसाद घिमिरे, अर्जुन राई, राजकुमार तामाङ र जुद्ध केरुङ रहेका छन्।
टोल समिति गठन कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीका नेताहरूले श्रम संस्कृति पार्टीलाई जनताको घरदैलोसम्म पुर्याउन नवगठित समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
उनीहरूले श्रमिक, किसान, मजदुर तथा आम नागरिकका हक, हित र अधिकारका पक्षमा आवाज उठाउँदै स्थानीय जनताका समस्या र आवश्यकतासँग प्रत्यक्ष जोडिएर काम गर्न समितिलाई आग्रह गरेका छन्।
यसैबीच, टोल समिति गठनकै क्रममा विभिन्न राजनीतिक दलमा आबद्ध रहेका तथा स्वतन्त्र रूपमा रहेका २० जनाभन्दा बढी व्यक्ति श्रम संस्कृति पार्टीमा प्रवेश गरेको जानकारी दिइएको छ। नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेताहरूले जनताको परिवर्तनप्रतिको चाहना र पार्टीप्रतिको आकर्षण बढ्दै गएको बताएका छन्।
पार्टीका अनुसार नवगठित समितिले स्थानीय जनतासँग प्रत्यक्ष समन्वय र सहकार्य गर्दै संगठन विस्तार, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा पार्टीका नीति, विचार र कार्यक्रमलाई प्रभावकारी रूपमा जनस्तरसम्म पुर्याउनेछ।
गैरीगाउँ बर्मेली टोलमा समिति गठनसँगै नयाँ सदस्यहरूको पार्टी प्रवेशलाई मेचीनगर–६ मा श्रम संस्कृति पार्टीको संगठन विस्तार अभियानले थप गति लिएको रूपमा हेरिएको छ। यसले आगामी दिनमा स्थानीयस्तरमा पार्टीको उपस्थिति र जनसम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।