मेचनिगर । जागृत बाल उद्धार केन्द्र नेपालको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले राधाकृष्ण अधिकारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गर्नुका साथै उपसमिति र सल्लाहकार समिति पनि चयन गरेको छ।
संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न सभामा वरिष्ठ अधिवक्ता लेखनाथ निरौला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मेचीनगर नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रल्हादमणि ओली, नेपाली कांग्रेसका नगर उपसभापति कञ्चन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा नं. ७ का सभापति दिपेश तिवारी, वडा नं. ६ का प्रतिनिधि भविन्द्र सुब्बा, संस्थाकी पूर्व अध्यक्ष बिना तामाङ तथा समाजसेवी पनिता ढकाललगायतको उपस्थिति रहेको थियो। उनीहरूले संस्थाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण, शिक्षा र भविष्य निर्माणमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा संस्थाको अभियानलाई थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो।
सभामा संस्थाका वरिष्ठ सल्लाहकार निर्मल पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। अध्यक्ष राधाकृष्ण अधिकारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्थापनाकालदेखि हालसम्मका गतिविधि, उपलब्धि, चुनौती र भावी योजनाबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी कोषाध्यक्ष भवानी खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
तीन बालबालिकाबाट सुरु भएको १३ वर्षे यात्रा
अनाथ, असहाय, अभिभावकविहीन तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण, पालनपोषण, शिक्षादीक्षा र उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले जागृत बाल उद्धार केन्द्र नेपालको स्थापना भएको हो।
नेपालका दुर्गम तथा विकट क्षेत्रका बालबालिका र विपन्न समुदायले भोग्दै आएका गरिबी, अशिक्षा, बेरोजगारी, रोग, भोक तथा सामाजिक विभेदजस्ता समस्यालाई न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी निकाय, सामाजिक सङ्घसंस्था र सहयोगी दातासँग समन्वय तथा सहकार्य गर्ने लक्ष्यसहित संस्था स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ।
संस्था दर्ता ऐन, २०३४ बमोजिम २०७० साल असार २४ गते जिल्ला प्रशासन कार्यालय झापामा दर्ता नम्बर २१२१ कायम गरी संस्था विधिवत् स्थापना भएको थियो। स्थापनाकै वर्ष साउन २४ गते तीन जना असहाय तथा जोखिममा परेका बालबालिकालाई संरक्षण प्रदान गर्दै संस्थाले आफ्नो सेवा यात्रा सुरु गरेको थियो।
सात जना संस्थापक सदस्यको सामूहिक प्रयासबाट सुरु भएको संस्थाको प्रारम्भिक यात्रामा तत्कालीन अध्यक्ष शोभा खनाल खत्री, सचिव गीता खनाल, कोषाध्यक्ष अर्जुन देवकोटा तथा सदस्यहरू सरला कोइराला, नदी कुमारी लिम्बू, टिकाराम लिम्बू र दुधरानी फुरुङ्बुको महत्वपूर्ण योगदान रहेको थियो।
संस्थापक सचिव गीता खनालले स्थापनाकालदेखि नै बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य र संरक्षणमा निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ। उहाँले बालबालिकालाई अभिभावकीय माया, ममता र स्नेह प्रदान गर्दै उनीहरूको जीवन रूपान्तरणमा निर्वाह गर्नुभएको भूमिकालाई संस्थाले विशेष महत्त्वका साथ स्मरण गरेको छ।
१३ वर्षमा २९ बालबालिकाको संरक्षण, १० जनाले गरे एसईई उत्तीर्ण
संस्थाको प्रगति प्रतिवेदनअनुसार स्थापनादेखि हालसम्म करिब २८ देखि २९ जना असहाय तथा जोखिममा परेका बालबालिकालाई आवास, भोजन, लत्ताकपडा, शिक्षा र स्वास्थ्य सेवासहित संरक्षण प्रदान गरिएको छ।
संस्थाको संरक्षणमा रहेका १० जना बालबालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरिसकेका छन्। त्यस्तै बालबालिकाको क्षमता तथा व्यक्तित्व विकासका लागि कम्प्युटर, ब्युटी पार्लर, नृत्य, कराते, खेलकुदलगायत विभिन्न सीपमूलक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिँदै आएको छ।
संस्थाले बालबालिकाको दैनिक जीवन सहज बनाउन आवश्यक भौतिक तथा शैक्षिक सामग्री, भाँडाकुँडा, टेलिभिजन, कम्प्युटर, डेस्क–बेन्च, पलङ र बिस्तरालगायतका सुविधाको व्यवस्था गर्दै आएको जनाएको छ।
प्रतिवेदनअनुसार हालसम्म करिब ९ देखि १० जना बालबालिकाको पारिवारिक पुनर्मिलन, पुनःस्थापना वा आत्मनिर्भर जीवनयापनका लागि आवश्यक व्यवस्थापन गरिएको छ। हाल संस्थामा १९ जना बालबालिका प्रत्यक्ष संरक्षणमा रहेका छन्।
संस्थाले आफ्नो सफलता भौतिक संरचना निर्माणमा मात्र नभई असहाय बालबालिकालाई शिक्षित, सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न सक्नुमा रहेको जनाएको छ।
राधाकृष्ण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति
१३औँ वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि राधाकृष्ण अधिकारीको अध्यक्षतामा नौ सदस्यीय मूल कार्यसमिति गठन गरेको छ।
नवनिर्वाचित मूल कार्यसमिति
१. अध्यक्ष – राधाकृष्ण अधिकारी
२. उपाध्यक्ष – भीमबहादुर खड्का
३. सचिव – छत्रबहादुर राई
४. कोषाध्यक्ष – गीता खनाल
५. सदस्य – मोहन कटुवाल
६. सदस्य – काजीमान विक
७. सदस्य – धिमरोज मोहम्मद
८. सदस्य – अनिता घिमिरे
९. सदस्य – शिवशंकर साह
उपसमिति
१. ताला सिक्कु
२. चम्पा योञ्जन
३. युवराज बास्कोटा
त्यसैगरी सल्लाहकार समितिमा निर्मल पौडेल, पनिता अधिकारी ढकाल, सीता गुरुङ, बिना तामाङ र भोलानाथ तिमल्सिना चयन हुनुभएको छ।
मूल कार्यसमितिले आवश्यकताअनुसार थप दुई जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था गरिएको छ।

२०० बालबालिकालाई संरक्षण दिने लक्ष्य, ५ देखि ७ कट्ठा जग्गा आवश्यक
संस्थाले आगामी दिनमा आफ्नो सेवा क्षेत्र विस्तार गर्दै २०० जनासम्म असहाय तथा जोखिममा परेका बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, खेलकुद, आधुनिक प्रविधि र सीपमूलक तालिम प्रदान गर्न सक्ने सुविधासम्पन्न बाल संरक्षण केन्द्र स्थापना गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ।
उक्त लक्ष्य हासिल गर्न संस्थालाई ५ देखि ७ कट्ठासम्म उपयुक्त जग्गा आवश्यक रहेको जनाउँदै उद्योगी, व्यवसायी, जग्गाधनी, समाजसेवी तथा सहयोगी दातासमक्ष जग्गा अनुदानस्वरूप उपलब्ध गराउन सार्वजनिक अपिल गरिएको छ।
जग्गा प्राप्त भएपछि संस्थाको नाममा विधिवत् स्वामित्व कायम गरी आवश्यक स्वीकृति तथा स्रोतसाधन जुटाउँदै चरणबद्ध रूपमा बाल संरक्षण केन्द्र निर्माणको प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।
संस्थाले जग्गा प्राप्तिलाई सयौँ असहाय बालबालिकाको सुरक्षित भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारका रूपमा लिएको छ। यसका अतिरिक्त बालबालिकाको शिक्षा तथा स्वास्थ्यका लागि स्थायी अक्षयकोष स्थापना, व्यावसायिक तथा सीपमूलक तालिम विस्तार, सुरक्षित आवास र बालमैत्री पूर्वाधार विकास, आर्थिक पारदर्शिता तथा संस्थागत सुशासनलाई आगामी प्राथमिकतामा राखेको छ।
आफ्नो अभियानलाई सफल बनाउन संस्थाले सरकारी तथा गैरसरकारी निकाय, सामाजिक सङ्घसंस्था, उद्योगी, व्यवसायी, समाजसेवी, सहयोगी दाता तथा सम्पूर्ण शुभचिन्तकसँग आर्थिक, भौतिक र नैतिक सहयोगका साथै रचनात्मक सुझाव तथा मार्गदर्शनको अपेक्षा गरेको छ।
‘हामीलाई केवल जग्गा होइन, सयौँ असहाय बालबालिकाका सपना फुल्ने सुरक्षित धरातल र उज्यालो भविष्य निर्माण गर्ने एउटा आत्मीय घर चाहिएको छ’ भन्ने भावनात्मक सन्देशसहित संस्थाले आफ्नो दीर्घकालीन अभियानमा सबैलाई साथ र सहकार्यका लागि आह्वान गरेको छ।