किरण सुनुवार,
गुवायाकिल (इक्वेडर) — अक्टोबर १९, २०२६
इक्वेडरका एक पादरीको प्रार्थना सभा (Mass) सञ्चालन गरिरहेको समयमा ढलेको ठूलो क्रुसले लागेर मृत्यु भएको छ। अक्टोबर १७ मा उक्त धार्मिक सेवाको प्रत्यक्ष प्रसारण (Livestream) भइरहेकै समयमा यो दर्दनाक दुर्घटना घटेको थियो।

इक्वेडरको सबैभन्दा ठूलो शहर गुवायाकिलस्थित ‘अवर लेडी अफ पर्पेचुअल हेल्प’ (Our Lady of Perpetual Help) चर्चमा वेदी (Altar) को पछाडि उभिएर ५३ वर्षीय रेडम्प्टोरिस्ट पादरी प्याट्रिसियो अल्फ्रेदो सान्चेज मोलिनारीले प्रार्थना गराइरहेका थिए। सोही क्रममा एउटा ठूलो क्रुस अगाडि ढलेर उहाँको टाउकोमा सिधै ठोक्कियो। क्रुसले लागेपछि उहाँ वेदीको पछाडि ढल्नुभएको थियो।
उहाँ ढलेपछि प्रार्थनामा उपस्थित मानिसहरूले “पाड्रे!” (“फादर!”) भन्दै कराएको र उहाँलाई बचाउन र सहयोग गर्न अगाडि बढेको आवाज सुनिएको थियो। प्रार्थना सभाको समयमा क्रुस कसरी र किन ढल्यो भन्ने कारण अझै खुल्न सकेको छैन।
यस दुखद् घटनाको प्रत्यक्ष प्रसारण र भिडियो रेकर्डिङ विश्वभर भाइरल बनेपछि चर्च (पारिश) ले संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त मूल भिडियो हटायो।
गुवायाकिलको आर्कडायोसिसले अक्टोबर १७ मा आफ्नो फेसबुक पेजमा एक छोटो विज्ञप्ति जारी गर्दै पादरी सान्चेजको निधनको पुष्टि गरेको छ। सान्चेजले पहिले सेवा गर्नुभएको गुवायाकिलभन्दा ६५ माइल उत्तरमा रहेको सान लोरेन्जो दे भिन्सेस पारिशको एउटा पोस्टमा भनिएको छ, “रेडम्प्टोरिस्ट परिवारको रूपमा, हामी उहाँको आत्माको चीर शान्तिको लागि प्रार्थनामा जुट्छौँ र प्रभुसँग उहाँको परिवार, भ्रातृ पादरीहरू र उहाँको योगदान र स्मरणलाई कृतज्ञताका साथ सम्मान गर्ने सम्पूर्ण विश्वासीहरूलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछौँ।”
अक्टोबर १८ मा अवर लेडी अफ पर्पेचुअल हेल्प चर्चमा पादरी सान्चेजको जीवन र योगदानको स्मरण गर्दै विशेष प्रार्थना सभा (Mass) आयोजना गरिएको थियो।
आफ्नो अन्तिम उपदेश (Homily) मा पादरी सान्चेजले भक्तजनहरूलाई ईश्वरलाई सबैभन्दा माथि राख्न र आफ्नो समयको बुद्धिमानीपूर्वक प्रयोग गर्न आग्रह गर्नुभएको थियो।
गुवायाकिलको स्थानीय पत्रिका एल युनिभर्सो अनुसार, गम्भीर घाइते हुनुभन्दा केही मिनेट अघि उहाँले भन्नुभएको थियो, “हाम्रो जीवनमा, कहिलेकाहीँ हामी ईश्वरलाई पर्याप्त समय र स्थान दिन असफल हुन्छौँ। धनसम्पत्ति, काम र परिवार तथा घरका गतिविधिहरूभन्दा पहिले ईश्वरलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।”
उहाँले अगाडि भन्नुभएको थियो, “एक दिन, यहाँ उपस्थित हामी सबैको मृत्यु हुनेछ। कहिलेकाहीँ हामीले अन्य चीजहरूमा बिताएको समयको त्यति अर्थ रहँदैन जति हामीले ईश्वरसँग बिताएको समयको हुन्छ। ईश्वर, हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू, जीवनसाथी, छोराछोरी र परिवारलाई हामीले दिने गुणस्तरीय समय नै वास्तवमा सही तरिकाले बिताइएको समय हो।”