काँकरभिट्टा, झापा
झापाको मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टामा श्रम संस्कृति पार्टीको वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको छ। स्थानीय युवा तथा श्रमदाताहरूको सक्रिय सहभागितामा दुई कोठे भवनको निर्माण कार्य पूरा भएको हो।
निर्माण समितिका संयोजक पवित्र प्रसाद राईका अनुसार करिब ५० जना श्रमदाताहरूको संयुक्त श्रमदान र लगनशीलताबाट उक्त भवन निर्माण गरिएको हो। श्रम संस्कृतिको भावनालाई आत्मसाथ गर्दै स्थानीय श्रमशक्तिबाटै भवन तयार पारिएको संयोजक राईले जानकारी दिनुभयो।
भौतिक निर्माणको काम सम्पन्न भइसकेको भए तापनि आवश्यक कार्यालय व्यवस्थापन (फर्निसिङ तथा आन्तरिक सजावट) को काम पूरा भएपछि मात्र भवनको औपचारिक उद्घाटन गरिने निर्माण समितिले जनाएको छ।