मेचीनगर । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले माइती नेपाल महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाका रूपमा ब्राण्ड बनिसकेको बताएकी छन् ।
बुधबार माइती नेपालले काँकरभिट्टा क्याम्पसको सभा हलमा आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरणसम्बन्धी सामाजिक लेखा परीक्षण कार्यक्रममा बोल्दै उपप्रमुख उप्रेतीले महिला, बालबालिका तथा विकृति–विसंगतिविरुद्धको क्षेत्रमा माइती नेपालले उल्लेखनीय काम गर्दै आएको बताइन् ।
उनले माइती नेपाल ‘केल्मी’ कपडाजस्तै आफ्नो क्षेत्रमा स्थापित ब्राण्ड बनिसकेको उल्लेख गरिन् । “म उपप्रमुख नहुँदादेखि नै माइती नेपालले काँकरभिट्टा क्षेत्रमा महिला तथा बालबालिकाको हितमा राम्रो काम गर्दै आएको छ । हामी त्यही बेलादेखि सहयोग र साथ दिइरहेका छौँ,” उनले भनिन् ।
कार्यक्रममा सहभागी विभिन्न सामाजिक संघ–संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले पनि माइती नेपालले महिला तथा बालबालिकाको संरक्षण, सीमा क्षेत्रमा हुने मानव बेचबिखन नियन्त्रण तथा सचेतना अभिवृद्धिमा गर्दै आएको कामको प्रशंसा गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी यज्ञबहादुर थापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कमल विष्ट, बाल जागरण मञ्च नेपालका अध्यक्ष मणिकुमार लिम्बू, काँकरभिट्टा माध्यमिक विद्यालयका प्रतिनिधि कृष्ण राजवंशी, आफन्त नेपालका मात्रिका गुरुङलगायतले सीमा नाकामा हुने जोखिम न्यूनीकरणका लागि सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राखे ।
माइती नेपालकी सुपरभाइजर पविना थपलियाले प्रोजेक्टरमार्फत संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा सीमा नाकाबाट दलालको प्रलोभनमा परी वा लुकिछिपी भारत जान लागेका १७६ जनालाई रोकिएको छ । त्यस्तै, भारतबाट ६ जनाको उद्धार, घरेलु हिंसामा परेका ८ जनालाई सहयोग तथा हराएको भनी निवेदन परेका ४५ जनामध्ये २१ जनालाई फेला पारिएको जनाइएको छ ।
यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा सीमा नाकाबाट लुकिछिपी भारत जान लागेका १५९ जनालाई रोकिएको, भारतबाट ४ जनाको उद्धार, घरेलु हिंसामा परेका ७ जनालाई सहयोग गरिएको विवरण प्रस्तुत गरिएको छ । सो अवधिमा हराएको भनी निवेदन परेका ६९ जनामध्ये २० जना फेला परेको र बलात्कारसम्बन्धी २ वटा मुद्दा रहेको जनाइएको छ ।
माइती नेपालले मेचीनगर नगरपालिका, वडा कार्यालय, विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी र प्रहरी–प्रशासनसँगको सहकार्यमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ११ लाख २९ हजार ४३२ रुपैयाँ बजेट खर्च गरेको जानकारी गराएको छ ।
कार्यक्रमको औचित्यमाथि माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत गोविन्द घिमिरेले प्रकाश पारेका थिए भने माइती नेपाल काँकरभिट्टाकी परामर्शकर्ता हेमन्ता बुढाथोकीले स्वागत गरेकी थिइन् ।


