बिशेष लेख ,
– हाेमराज राई,
पूर्वी नेपालको एउटा गाउँ। त्यहाँ बस्ने १६ वर्षीया सृष्टि चञ्चले, मिलनसार तर मोबाइल र सामाजिक सञ्जालको लतमा फसेकी किशोरी हो। उसका बुवा हरि बिहानदेखि साँझसम्म खेतमा पसिना बगाउँछन्। आमा माया छोरीले राम्रो पढोस्, ठूलो मान्छे बनोस् भन्ने सपना देख्छिन्। तर सृष्टिलाई भने आमा–बुवाको हरेक सम्झाइ नियन्त्रण जस्तो लाग्छ।
“मोबाइल धेरै नचलाऊ।” “पढाइमा ध्यान दे।” “अपरिचितसँग धेरै कुरा नगर।”
यी शब्दहरू सृष्टिलाई मायाका होइन, बन्देजका आवाज जस्ता लाग्छन्। ऊ विस्तारै परिवारभन्दा मोबाइल र फेसबुकको संसारमा रमाउन थाल्छे।
एक दिन फेसबुकमा “रिना गुरुङ” नामकी युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ। आकर्षक प्रोफाइल, मीठो बोली र माया भरिएका सन्देशहरूले सृष्टिलाई छिट्टै प्रभावित पार्छन्। रिना आफूलाई “दिदी” भनेर चिनाउँछे। उसले कहिल्यै आदेश दिँदैन, सधैं सुन्छे। जब घरमा झगडा हुन्छ, सृष्टि आमा–बुवालाई नभई रिनालाई आफ्नो मन खोल्छे।
रिनाले बिस्तारै सृष्टिको विद्यालय, परिवार, आर्थिक अवस्था, घरको ठेगाना, दैनिक तालिका, घरमा को–को बस्छन्, कहिले एक्लै हुन्छे भन्ने सबै जानकारी थाहा पाउँछे। सृष्टिलाई भने यो सामान्य कुराकानी जस्तै लाग्छ।
घरमा बुवाले मोबाइल केही दिनका लागि खोसिदिन्छन्। सृष्टि झन् आक्रोशित हुन्छे। त्यही बेला रिनाले सन्देश पठाउँछे “तिमीलाई कसैले बुझ्दैन। यदि तिमी चाह्यौ भने म तिम्रो नयाँ जीवन सुरु गरिदिन्छु।”
रिनाले काठमाडौंमा पढाइ, राम्रो जागिर, छात्रवृत्ति र उज्ज्वल भविष्यको सपना देखाउँछे। “तिम्रा आमा–बुवालाई अहिले नबताऊ, सफल भएपछि उनीहरू आफैं खुसी हुनेछन्,” भनेर उसले सृष्टिको मन जित्छे।
एक रात सृष्टि घर छोड्छे। आमाको सिरानीछेउ एउटा चिठी राख्छे—”म आफ्नो भविष्य बनाउन जाँदैछु। मलाई खोज्न नआउनु।”
बिहान त्यो चिठी पढेर आमा भुइँमै ढल्छिन्। बुवा गाउँ–गाउँ, बसपार्क, प्रहरी चौकी र आफन्तको घर धाउँछन्। सानो भाइ दिदीको फोटो समातेर रोइरहन्छ। घरमा सन्नाटा छाउँछ।
उता काठमाडौं पुगेपछि रिना एक्ली आउँदिन। ऊसँग विक्रम नामको पुरुष पनि हुन्छ। “पहिले एउटा ठाउँमा बसौँ, अनि कागज बनाउँछौँ,” भन्दै उनीहरूले सृष्टिलाई एउटा घरमा पुर्याउँछन्। त्यहाँ पुगेपछि सृष्टिको मोबाइल खोसिन्छ। ढोका बाहिरबाट बन्द गरिन्छ। उसले विरोध गर्दा धम्की दिइन्छ “करायौ भने तिम्रो परिवारलाई पनि दुःख दिन्छौँ।”
त्यहाँ सृष्टिले सीता नामकी अर्की नेपाली युवतीलाई भेट्छे।
सीताले आँसु झार्दै भन्छे: “म पनि तिमी जस्तै फेसबुकको साथीलाई विश्वास गरेर आएकी थिएँ। यहाँ आएपछि थाहा भयो, हामीलाई मान्छे होइन, सामान ठानिन्छ।”
सृष्टिको सपना त्यही क्षण चकनाचुर हुन्छ। उसले घर सम्झेर रातभर रोइरहन्छ। आमाको काख, बुवाको पसिना र भाइको मुस्कान उसको आँखाअघि आउँछ। उसलाई पहिलोपटक महसुस हुन्छ—जसलाई आफूले नियन्त्रण सम्झेकी थिई, त्यो त मायाले दिएको सुरक्षा रहेछ।
दलालले उनीहरुलाई रातिनै भारतकाे मुम्बाई पुर्याउछिन्,
केही महिनापछि त्यहाँबाट एउटा गोप्य सूचना भारतीय मानव अधिकारकर्मीहरूसम्म पुग्छ। भारतीय प्रहरीको सहयोगमा छापा मारिन्छ। सृष्टि र अन्य युवतीहरूलाई उद्धार गरिन्छ। त्यसपछि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यरत नेपालकाे संस्था, नेपाल प्रहरी र सम्बन्धित निकायको समन्वयमा उनीहरूलाई स्वदेश फर्काइन्छ।
नेपाल फर्किने क्रममा सृष्टि एक शब्द पनि बोल्न सक्दिन। घर पुग्नेबित्तिकै आमा दौडेर छोरीलाई अँगालो हाल्छिन्। दुवैको आँसु रोकिँदैन। बुवा छोरीको टाउकोमा हात राखेर भन्छन्:
“छोरी, तिमी फर्कियौ, यही नै हाम्रो सबैभन्दा ठूलो धन हो।”
सृष्टि रुँदै जवाफ दिन्छे: “बुवा… मैले तपाईंहरूको मायालाई कैद सम्झिएँ। अपरिचितको मीठो बोलीलाई विश्वास गरेँ। आज बुझें, संसारमा आमा–बुवाजस्तो सुरक्षित आश्रय अरू कोही हुँदैन।”
सृष्टिले भने, “एउटा फ्रेन्ड रिक्वेस्ट, एउटा मीठो बोली, एउटा गलत विश्वास… यिनैले मेरो जीवन अन्धकारमा पुर्यायो। कृपया सामाजिक सञ्जालमा अपरिचितलाई आफ्नो परिवार, ठेगाना वा व्यक्तिगत जानकारी नदिनुहोस्। कुनै पनि आकर्षक प्रस्ताव स्वीकार गर्नु अघि आफ्ना अभिभावक, शिक्षक वा सम्बन्धित निकायसँग सल्लाह गर्नुहोस्। सचेत बनौँ, सुरक्षित रहौँ, मानव बेचबिखन अन्त्य गरौँ।”


