मेचीनगर, असार २४।

झापाको मेचीनगर–७ स्थित जागृत बाल उद्धार केन्द्र नेपाल को १३औँ वार्षिक उत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणि ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ वरिष्ठ अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष बिना तामाङ तथा सबिना तामाङ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
संस्थाका सचिव छत्रबहादुर राई (होमराज) ले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भीमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रलादमणि ओली ले “कुनै पनि ढुङ्गामा दान वा भेटी चढाउनुभन्दा असहाय तथा अनाथ बालबालिकाको शिक्षा, पालनपोषण र उज्ज्वल भविष्यका लागि सहयोग गर्नु नै सबैभन्दा पवित्र सेवा हो” भन्नुभयो। उहाँले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यस्ता संस्थालाई सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

उक्त अवसरमा संस्थाको संरक्षण, भवन निर्माण, शिक्षा, सीप विकास तथा अन्य सामाजिक कार्यमा उल्लेखनीय योगदान पुर्याउने ६५ जना सहयोगी दाता, पूर्व कार्यसमितिका पदाधिकारी, ज्येष्ठ नागरिक, प्रशिक्षक तथा विभिन्न सहयोगी व्यक्तित्वहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष राधाकृष्ण अधिकारी ले संस्थाको स्थापना कालदेखि सहयोग गर्ने सबै दाता, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि असहाय तथा अनाथ बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।


