प्रहरी कार्यालय र सुरक्षित आवास गृहलाई १३ प्रकारका राहत सामग्री उपलब्ध

इट्टाभट्टा । मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि सञ्चालित एकीकृत सेवा पहुँच परियोजना (IGBVRN) अन्तर्गत हिंसा प्रभावित महिला, बालबालिका तथा किशोरीहरूको तत्काल राहत, संरक्षण र सम्मानजनक सेवा सुनिश्चित गर्ने उद्देश्यले अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ।
विश्व बैंकको अनुदान सहयोग तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त परियोजनाअन्तर्गत १३ प्रकारका आधारभूत आवश्यक सामग्री इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी तथा सुरक्षित आवास गृह (आफन्त नेपाल), काँकरभिट्टालाई हस्तान्तरण गरिएको हो।
हिंसा प्रभावित व्यक्तिहरू संरक्षणको खोजीमा सबैभन्दा पहिले पुग्ने सेवा केन्द्रहरूलाई लक्षित गरी ठूला तौलिया, ब्ल्याङ्केट, बेडसिट, महिलाका भित्री वस्त्र, टूथब्रस, टूथपेस्ट, नुहाउने साबुन, सेनिटरी प्याड, प्राथमिक उपचार किट (फर्स्ट एड किट), चप्पल, सिरानी तथा सिरानीको कभर, स्याम्पु र मजेत्रो (शल) लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। यी सामग्रीले हिंसा प्रभावित व्यक्तिहरूको तत्काल सरसफाइ, आधारभूत आवश्यकता र सुरक्षित बसोबास व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुडाथोकी, उपप्रमुख मिना पोख्रेल उप्रेती तथा प्रमुख प्रशासकीय अधिकृत सुबास श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा महिला विकास शाखा प्रमुख जयन्ती खरेल, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, मनोसामाजिक परामर्शदाता उपेन्द्र राजवंशी, केस कार्यकर्ता न्यूजा राई र शान्ति मेहरा तथा सामग्री ग्रहण गर्ने तीनवटै संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बुडाथोकीले लैङ्गिक तथा घरेलु हिंसा, मानव बेचबिखन तथा यौनजन्य हिंसाबाट प्रभावित भई जोखिममा परेका व्यक्तिहरूलाई तत्काल राहत, संरक्षण र गुणस्तरीय सेवा उपलब्ध गराउनु स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूको साझा दायित्व भएको बताउनुभयो।

उहाँले आपतकालीन सामग्री व्यवस्थापनले प्रहरी कार्यालय तथा सुरक्षित आवास गृहमा पुग्ने हिंसा प्रभावित व्यक्तिहरूलाई आवश्यक आकस्मिक सेवा थप पीडितमैत्री, प्रभावकारी र सम्मानजनक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
मेचीनगर नगरपालिकाले IGBVRN परियोजनामार्फत हिंसा प्रभावित व्यक्तिहरूलाई सहज, सुरक्षित र प्रभावकारी सेवा सुनिश्चित गर्दै लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितमैत्री सेवा प्रणाली सुदृढीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


