४ असार,
काठमाडौं । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् । अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्र (एमओयू) मा डिजिटल हस्ताक्षर गरिसकेका छन् । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ ।
अमेरिका र इरानीबीच अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर भने शुक्रबार स्वीटजरल्याण्डमा हुँदैछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार सम्झौताका प्रमुख ६ बुँदाहरू यस्ता छन्–
१. लेबनानसहित सबै मोर्चामा तत्काल युद्ध अन्त्य गरिने ।
२. हर्मुज जलडमरूमध्ये (स्ट्रेट अफ होर्मुज) मा समुद्री आवतजावत पूर्णरूपमा सुचारु गरिने ।
३. इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी हटाइने ।
४. अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने र रोक्का गरिएका सम्पत्तिहरू खुला गर्ने ।
५. इरानको आर्थिक पुनर्स्थापनाका लागि ३०० अर्ब अमेरिकी डलरको योजना लागू गर्ने ।
६. इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो दशकौँ पुरानो प्रतिबद्धतालाई पुन: दोहोर्याउने ।
यी सम्झौताले गत अप्रिल महिनामा घोषणा गरिएको युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याएको छ, ताकि दुवै पक्षले स्थायी शान्ति सम्झौताका लागि वार्ता गर्न सकून् ।
फ्रान्समा भेला भएका जी–७ का नेताहरूले पनि यस सम्झौताको स्वागत गरेका छन् । यद्यपि, एक वरिष्ठ अमेरिकी अधिकारीले सम्झौता बाध्यकारी नबनाएसम्म जुनसुकै पक्ष पनि यसबाट पछि हट्न सक्ने आशंका कायमै रहेको बताएका छन् ।
सम्झौता पालना नभए पुन: आक्रमण गर्ने ट्रम्पको धम्की
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो प्रतिबद्धता पूरा नगरे पुन: आक्रमण सुरु गर्ने चेतावनी दिएका छन् ।
फ्रान्समा आयोजना भइरहेको जी–७ शिखर सम्मेलनमा सहभागी ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘यदि उनीहरूले सम्झौता उल्लंघन गरे, हामी उनीहरूमाथि भयानक बमबारी गर्नेछौँ । म त्यसो होस् भन्ने चाहन्नँ, म उनीहरूले सम्झौताको सम्मान गरुन् भन्ने चाहन्छु ।’
उनले इरानीहरूलाई ‘स्मार्ट मानिस’ भन्दै आगामी ६० दिनभित्र स्थायी युद्धविरामका लागि दुवै देशका वार्ताकारहरूले काम गरिरहेको जानकारी दिए ।
उनले इरानले राम्रो व्यवहार नगरे पुन: बम खसाल्न सुरु गर्ने चेतावनी यसअघि पनि दिएका थिए ।
आफ्नो अडानबाट पछि हटे ट्रम्प
विगतमा इरानको ब्यालिस्टिक मिसाइललाई नामोनिसान मेटाइदिने कसम खाएका ट्रम्पले यसपटक भने आफ्नो बोली फेरेका छन् । इरानसँग ब्यालिस्टिक मिसाइल हुनु हुँदैन भन्नु ‘अन्यायपूर्ण’ हुने भन्दै ट्रम्पले आक्रमणको आफ्नो एउटा प्रमुख औचित्यलाई आफैँले फिर्ता लिएका छन् ।
युद्धको सुरुवातमा ट्रम्पले राखेका धेरैजसो उद्देश्यहरू पूरा हुन नसकेको र इरान आक्रमण हुनुभन्दा अघिको तुलनामा अहिले अर्बौँ डलरको प्रतिबन्धबाट मुक्ति पाउने स्थिति नजिक पुगेको देखिएको रोयटर्सले जनाएको छ ।
समाचार अनुसार इरानको परम्परागत सरकार यथावतै छ । उसको अत्यधिक संवर्धित युरेनियमको भण्डार सुरक्षित छ । ब्यालिस्टिक मिसाइल क्षमता नष्ट भएको छैन र लेबनानको हिजबुल्लाह जस्ता इजरायल विरोधी समूहहरूलाई उसले गर्ने समर्थन पनि रोकिएको छैन ।
आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गर्दै पहिलो दिनमै ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र शीर्ष सैन्य अधिकारीहरूको हत्या गरेका थिए । त्यसपछि यो द्वन्द्व क्षेत्रीय संकटमा परिणत भएको थियो, जसका कारण ऊर्जाको मूल्य बढेको थियो, मुद्रास्फीतिको दबाब सिर्जना भएको थियो र विकासोन्मुख देशहरूमा खाद्य संकटको चिन्ता बढाएको थियो ।
बुधबार सम्झौतासँगै स्ट्रेट अफ हर्मुज खुला हुने सम्भावनाले कच्चा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा तल ओर्लिएको छ, जुन युद्ध सुरु भएयताकै सबैभन्दा न्यून स्तर हो ।
यद्यपि, ट्रम्पले सम्झौतामा चित्त नबुझे युद्ध पुन: सुरु गर्न सक्ने बयान दिएपछि तेलको मूल्यमा फेरि १ प्रतिशतभन्दा बढीको सामान्य वृद्धि देखिएको रोयटर्सले जनाएको छ ।
अनलाइनखबर ,


