अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ दुई फरक प्रकृतिका विषय भएको स्पष्ट पारेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आजको जटिल र अनिश्चित विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्ति परिपक्व, अनुभवी, निर्णयक्षम र दूरदर्शी हुनुपर्नेमा जोड दिएका छन्।
हमालले लेखेका छन्, “आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नभएको नेतृत्वका कारण राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था आउन सक्छ।”
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सीमा विषयमा दिएको अभिव्यक्तिप्रति विरोध भइरहेका बेला हमालले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्।
उनका अनुसार सीमा सम्बन्धी बहसमा प्रायः ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ लाई एउटै अर्थमा बुझ्ने प्रवृत्ति देखिन्छ, तर यी दुईको प्रकृति पूर्णतः फरक छ। सीमापार अतिक्रमणलाई उनले स्थानीय तथा प्रशासनिक समस्या बताएका छन्। नेपाल–भारत खुला सीमाका कारण शताब्दीयौंदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्ध कायम रहेको उल्लेख गर्दै नदीको धार परिवर्तन, सीमा स्तम्भ हराउनु वा क्षतिग्रस्त हुनु तथा बस्ती विस्तारजस्ता विषयलाई ऐतिहासिक र भौगोलिक परिस्थितिको परिणामका रूपमा व्याख्या गरेका छन्।
“यी घटनाहरू प्रायः नीतिगत होइनन्, भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिका परिणाम हुन्,” उनले लेखेका छन्, “यस्ता समस्या संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिन्छ।”
तर राज्य–प्रायोजित भू–अतिक्रमणको विषय भने गम्भीर र फरक रहेको हमालको तर्क छ। उनका अनुसार जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा नियन्त्रण विस्तार गर्न सक्रिय हुन्छ, त्यस्तो अवस्था राज्य–प्रायोजित भू–अतिक्रमण हो। यसमा राज्यका संस्थाहरू संलग्न हुने, सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन तथा सरकारी नक्सा संशोधनजस्ता कार्य हुने उनले उल्लेख गरेका छन्।
हमालले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।


