कबिता,
– होमराज राई,
समयको सिँढीमा उभिएको मानिस,
आफ्नै छायाँसँग हरपल युद्ध गरिरहेछ,
बाहिर मुस्कानको दीप बालेर
भित्रभित्रै शून्यतासँग जलिरहेछ,।
जीवन…,
कहिले फूलको सुवास बनेर आउँछ,
कहिले काँडाको पीडा बोकेर,
तर समयको कठोर पाठशालाले
हरेक आत्मालाई केही न केही सिकाएरै छोड्छ।
मानिसले आकाश जित्ने सपना देख्यो,
तर आफ्नै मन जित्न सकेन,
उसले संसारलाई बदल्न खोज्यो,
तर आफ्नो अहंकार गलाउन सकेन।
धनको उचाइ चुम्दैमा
मानिस ठूलो हुँदैन साथी…,
बरु आँसु पुछ्ने हातमा
ईश्वरको सबैभन्दा सुन्दर रूप लुकेको हुन्छ।
जीवन त धुवाँझैँ क्षणभंगुर छ,
आज देखिएको दृश्य
भोलि स्मृतिमा मात्र बाँच्छ,
तर प्रेमले छोएको हृदय भने
मृत्युपछि पनि धड्किरहन्छ।
जब अन्तिम साँझ झर्छ,
जब सासहरू थाकेर मौन हुन्छन्,
त्यो बेला मानिसले सम्झिने कुरा
उसले कमाएको सम्पत्ति होइन ,
उसले बाँडेको माया,
दिएको सम्मान,
र कसैको अँध्यारो जीवनमा
बनेको सानो उज्यालो मात्र हुन्छ।
त्यसैले…,
समय रहुन्जेल
मनमा करुणा रोप,
वचनमा मिठास भर,
किनकि जीवनको वास्तविक अर्थ
बाँच्नुमा होइन,
अरूको हृदयमा बाँचिरहनुमा छ।

