आश्विन २०८२, शुक्रबार,
मेचीनगर (झापा),
युवा व्यवसायी आसेर उराउले झापाको काँकरभिट्टा भट्टराई चौकमा करिब १० लाख रुपैयाँको लगानीमा ‘जोय इन्टरप्राइजेज’ नामक नयाँ फुटवेयर पसल सञ्चालनमा ल्याएका छन्।
शुक्रबार एक विशेष समारोहका बीच मेचीनगर इसाई समाजका अध्यक्ष राजु खड्का र पास्टर माण्डु धिमालले संयुक्त रूपमा रिबन काटी पसलको उद्घाटन गरेका हुन्।
पसलमा गोल्डस्टार, ब्ल्याक हर्स, क्यालिभरलगायतका नेपाली जुत्ताका ब्रान्डलाई प्राथमिकता दिइएको छ। यी ब्रान्डले पछिल्ला वर्षमा बजारमा राम्रो लोकप्रियता हासिल गरेका छन् र गुणस्तरका आधारमा आयातित जुत्तासँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यवसायी उराउले व्यक्त गरे।
उनका अनुसार पसलले स्थानीय ग्राहकसँगै सीमावर्ती क्षेत्रका उपभोक्तालाई समेत लक्षित गरेको छ। “नेपाली उत्पादनमै गुणस्तरीय जुत्ता उपलब्ध हुन्छन् भन्ने सन्देश दिने हाम्रो उद्देश्य हो,” उनले उद्घाटन कार्यक्रममा भने।
कार्यक्रममा सहभागी स्थानीयबासीहरूले नयाँ व्यवसायले काँकरभिट्टाको व्यापारिक क्षेत्रमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे। सीमावर्ती बजार भएकाले भारतीय ग्राहकलाई समेत आकर्षित गर्न सक्ने सम्भावना रहेको उनीहरूको भनाइ थियो।
व्यवसायसँगै नेपाली जुत्ताको प्रवर्द्धन मात्र नभई स्थानीय युवालाई रोजगारी दिने अवसर पनि सिर्जना हुने अपेक्षा गरिएको छ। साथै, स्कुलका विद्यार्थीका लागि सुलभ मूल्यमा जुत्ता उपलब्ध गराइने जानकारी दिइएको छ।

