काँकरभिट्टा । मानव बेचबिखन तथा लैंगिक हिंसा रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, सुरक्षा निकाय तथा सरोकारवाला संघसंस्थाबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा जोड दिइएको छ।

आफन्त नेपालको आयोजना तथा स्ट्याण्डर्ड चार्टर्ड बैंक नयाँ बानेश्वर काठमाडौंकाे साैजन्यमा बुधबार मेचीनगर–६, काँकरभिट्टास्थित भारी रेष्टुरेन्टमा सम्पन्न “स्थानीय निकायहरूसँगको समन्वयात्मक बैठक” का सहभागीहरूले मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध साझा प्रयास आवश्यक रहेको बताएका हुन्। कार्यक्रम “मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यको अभियान” अन्तर्गत आयोजना गरिएको थियो।

आफन्त नेपाल केन्द्रका कार्यक्रम व्यवस्थापक केशर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी नगर उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख अतिथि तथा प्रहरी निरीक्षक कमल विष्ट विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख उप्रेतीले मानव बेचबिखन तथा लैंगिक हिंसा नियन्त्रणका लागि स्थानीय सरकार एक्लैको प्रयास पर्याप्त नहुने बताइन्। नगरपालिका, प्रहरी, सामाजिक संघसंस्था तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध काम गरिरहेका विभिन्न संघसंस्थासँग मेचीनगर नगरपालिका सहकार्य गर्दै अगाडि बढ्ने बताइन्।

विशिष्ट अतिथि प्रहरी निरीक्षक कमल विष्टले मानव बेचबिखनजस्तो गम्भीर अपराध रोक्न समुदायसम्म सचेतना विस्तार गर्नुका साथै जोखिममा परेका व्यक्तिको समयमै पहिचान, सूचना आदानप्रदान, उद्धार तथा आवश्यक कानुनी प्रक्रियामा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए।


कार्यक्रममा भरोसा खतिवडाले स्वागत मन्तव्य राखेकी थिइन् भने आफन्त नेपालले सञ्चालन गर्दै आएका कार्यक्रम, उपलब्धि तथा मानव बेचबिखनविरुद्ध गरिएका गतिविधिसम्बन्धी संस्थागत प्रतिवेदन जिल्ला संयोजक करुणा त्रिखत्री र कञ्चन मगरले प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन प्रितिका थामीले गरेकी थिइन्।
प्रतिवेदन प्रस्तुतिका क्रममा आफन्त नेपालले मानव बेचबिखन तथा लैंगिक हिंसा रोकथामका लागि सूचना सम्प्रेषण, परामर्श सेवा, उद्धार तथा अवरोध, प्रहरीको सहयोगमा घटना व्यवस्थापन, आपतकालीन आवास गृह सेवा, पारिवारिक पुनर्मिलन, सीपमूलक तालिमका लागि सिफारिस तथा कानुनी सहायता लगायतका काम गर्दै आएको जानकारी गराइएको थियो।
प्रस्तुत विवरणअनुसार सन् २०२६ मा हालसम्म सूचना सम्प्रेषणबाट २ हजार १७७ जना र परामर्श सेवाबाट ५६३ जना लाभान्वित भएका छन्। यस अवधिमा ५१ जनाको उद्धार तथा अवरोध गरिएको जनाइएको छ, जसमा २६ महिला र २५ किशोरी रहेका छन्। प्रहरीको सहयोगमा ५१ जनाको घटना व्यवस्थापन गरिएको तथा ४० जनालाई आपतकालीन आवास गृह सेवा प्रदान गरिएको विवरण प्रस्तुत गरिएको थियो।
त्यस्तै ४४ जनाको पारिवारिक पुनर्मिलन, सात जनालाई सीपमूलक तालिमका लागि सिफारिस तथा तीनवटा मुद्दामा कानुनी सहायता उपलब्ध गराइएको जानकारी दिइएको थियो। पारिवारिक पुनर्मिलनपछि समेत सम्बन्धित व्यक्तिसँग नियमित सम्पर्क तथा फलोअप गर्ने गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा जोखिममा रहेका तथा मानव बेचबिखनबाट प्रभावित महिला र किशोरीका लागि सञ्चालन गरिने सुरक्षित आवास गृह (पुनःस्थापना गृह) का सेवाबारे पनि जानकारी दिइयो। त्यहाँ सुरक्षित आवाससँगै मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य उपचार, शिक्षा तथा व्यावसायिक शिक्षाका लागि प्रेरणा, सीप विकास तालिम, क्षमता अभिवृद्धि, सशक्तीकरण तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
सन् २०२६ मा सुरक्षित आवास गृहमा सिफारिस गरिएकामध्ये एकद्वार संकट व्यवस्थापन केन्द्र, जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका प्रहरी कार्यालय, भारतीय प्रहरी तथा भारतीय संघसंस्था र मेचीनगर नगरपालिकाको इटाभट्टालगायतका निकायसँग समन्वय गरिएको विवरणसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो।
आफन्त नेपालले आफ्नो कार्यपद्धतिलाई पीडित (Victim) बाट प्रभावित/Survivor, त्यसपछि छोरी (Daughter) र अन्ततः अगुवा (Leader) बन्ने “स्वतन्त्रताको मार्ग (Freedom Pathway)” का रूपमा अघि बढाउँदै आएको जनाएको छ। यसअन्तर्गत हिंसा र शोषणको अवस्थाबाट उद्धार गरिएका व्यक्तिलाई संरक्षण, परामर्श र सहयोग हुँदै शिक्षा, सीप र अवसर प्रदान गरी आत्मनिर्भर तथा नेतृत्वदायी भूमिकासम्म पुर्याउने लक्ष्य राखिएको छ।
संस्थाले विद्यालय तथा समुदायस्तरमा समेत मानव बेचबिखन र लैंगिक हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रस्तुत विवरणअनुसार सन् २०२६ मा झापाका विभिन्न स्थानमा सातवटा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३२५ जना लाभान्वित भएका छन्। मेचीनगर नगरपालिका क्षेत्रमा सचेतनामूलक जिंगल प्रसारणलगायतका गतिविधिसमेत सञ्चालन गरिएको जानकारी दिइयो।

कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, बीआईटी, विभिन्न विद्यालयका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो
कार्यक्रमका सहभागीहरूले मानव बेचबिखनको स्वरूप समयसँगै परिवर्तन भइरहेको भन्दै सीमा क्षेत्रमा मात्र नभई समुदाय र परिवार तहसम्म सचेतना, रोकथाम, उद्धार, पुनःस्थापना र आर्थिक सशक्तीकरणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमका अध्यक्ष तथा आफन्त नेपाल केन्द्रका कार्यक्रम व्यवस्थापक केशर विश्वकर्माले मानव बेचबिखन तथा लैंगिक हिंसा नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकाय, प्रहरी, स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउँदै अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।