Skip to main content

नयाँ तृष्णा

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

[adsforwp id="2511"]

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले आइतबार पहिलोपटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट चीनको साइबर सुरक्षा, संवेदनशील सूचना तथा सैन्य संयन्त्रसमेत जोखिममा पर्न सक्छन्।

राज्य सुरक्षा मन्त्री चेन यीशिनले शत्रुतापूर्ण शक्ति तथा गलत नियत भएका व्यक्तिहरूले जेनेरेटिभ एआई प्रविधिको दुरुपयोग गरिरहेको बताएका छन्।

उनका अनुसार डीपफेक अडियो तथा भिडियो, एआईबाट तयार पारिएका पाठ तथा तस्बिर र ‘इन्टेलिजेन्ट ट्रोल आर्मी’ प्रयोग गरी राजनीतिक अफवाह फैलाउने, हानिकारक सूचना प्रसार गर्ने तथा विभाजनकारी भावना भड्काउने काम ठूलो परिमाणमा र कम खर्चमा गर्न सकिन्छ।

यस्ता गतिविधिले चीनमाथि जनमत तथा धारणाको स्तरमा ‘कग्निटिभ वारफेयर’ अर्थात् मानसिक तथा धारणा बनाउने युद्ध सञ्चालन गर्ने खतरा रहेको चेनले बताएका छन्।

यसबाट चीनको राजनीतिक सुरक्षा, संस्थागत सुरक्षा र वैचारिक सुरक्षामा प्रत्यक्ष खतरा उत्पन्न हुने उनको भनाइ छ।

एआई सुरक्षाबारे चीनको चिन्ता बढ्दै

चीनमा एआई सुरक्षाबारे हुने सार्वजनिक बहस यसअघि मुख्यतः साइबरस्पेस प्रशासन र अन्य नियामक निकायमा केन्द्रित थियो। ती बहसमा एआईसम्बन्धी नियमन र प्राविधिक जोखिमलाई बढी प्राथमिकता दिइँदै आएको थियो।

राज्य सुरक्षा मन्त्रालयको पछिल्लो वक्तव्यले भने एआईलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्ने चीनको दृष्टिकोण थप स्पष्ट पारेको छ।

अमेरिकी प्रविधि क्षेत्रका नेताहरूले पनि पछिल्लो समय अत्याधुनिक एआईको तीव्र विकासप्रति चिन्ता व्यक्त गर्दै आएका छन्।

केही अनुसन्धानकर्ताले एआईबाट अत्यन्त गम्भीर परिणाम, मानव अस्तित्वमै खतरा उत्पन्न हुन सक्ने सम्भावनासम्म औंल्याएका छन्।

तर चिनियाँ राज्य सुरक्षा मन्त्रालयको वक्तव्यमा एआईले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनी दिइएको छैन।

साथै चिनियाँ कम्पनीहरूलाई एआई विकासको गति घटाउन पनि आह्वान गरिएको छैन।

यसैबीच, एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईले सप्ताहन्तमा प्रकाशित एक लेखमा प्रविधि क्षेत्रले ‘एआई मोडलको क्षमता सुधार्ने गति घटाउनुपर्ने’ बताएका थिए। ओपनएआईका प्रमुख साम अल्टम्यान र इलन मस्कले पनि उक्त प्रस्तावप्रति समर्थन जनाएका थिए।

चीनको कम्युनिस्ट पार्टीसम्बद्ध राष्ट्रवादी ट्याब्लोइड ग्लोबल टाइम्सले भने अमोदेईको प्रस्तावको आलोचना गरेको छ।

अमोदेईले एआईमा चीनले अमेरिकालाई उछिनेमा त्यसले अमेरिका र विश्वका लागि गम्भीर खतरा निम्त्याउने धारणा राखेको भन्दै ग्लोबल टाइम्सले एआई सुरक्षालाई भूराजनीतिक ‘जिरो-सम गेम’का रूपमा प्रस्तुत गर्नु गलत भएको जनाएको छ।

एआई सुरक्षा विश्वव्यापी चुनौती भएकाले प्रमुख एआई शक्तिबीच सहकार्य आवश्यक रहेको उसको तर्क छ। अमोदेईको धारणा व्यावसायिक स्वार्थबाट प्रेरित भएको आरोप पनि पत्रिकाले लगाएको छ।

विदेशी एआई प्रयोगबाट संवेदनशील सूचना चुहिन सक्ने चिन्ता

प्रविधि नीति र एआई शासनसम्बन्धी विषयमा काम गरिरहेका चिनियाँ अधिकारी, कूटनीतिज्ञ तथा प्राज्ञहरूका अनुसार पछिल्लो समय चीन आफ्नो साइबर सुरक्षाप्रति थप चिन्तित बनेको छ।

एन्थ्रोपिक र ओपनएआईले विकास गरेका नयाँ एआई मोडलहरूले ह्याकिङ लगायतका उन्नत क्षमता प्रदर्शन गरेपछि चीनको साइबर प्रणालीको कमजोरीबारे चिन्ता बढेको उनीहरूको भनाइ छ।

चिनियाँ अधिकारीहरूले पछिल्ला साताहरूमा अमेरिकी अधिकारी तथा प्रविधि कम्पनीहरूसँग भएका छलफलमा एआई सुरक्षाको विषयसमेत उठाएका छन्।

ती छलफलमा चीनले अमेरिकी सरकारले चिनियाँ ओपन-सोर्स एआई मोडलमाथि प्रतिबन्ध लगाउने सम्भावना प्रति पनि चासो व्यक्त गरेको बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यसै महिनाको अन्त्यतिर अमेरिकामा हुने भनिएको भेटवार्तामा एआई सुरक्षा महत्वपूर्ण विषय बन्न सक्ने अपेक्षा गरिएको छ।

राज्य सुरक्षा मन्त्री चेनले आइतबारको वक्तव्यमा चिनियाँ कम्पनीहरूले विदेशी एआई उपकरण प्रयोग गर्दा ‘संवेदनशील सूचना’ चुहिन सक्ने जोखिम पनि औंल्याएका छन्।

यसले संवेदनशील क्षेत्रमा विदेशी एआई मोडलको प्रयोगमा चीनले थप कडाइ गर्न सक्ने संकेत गरेको छ।

चीनका सरकारी स्वामित्वका उद्यम तथा वित्तीय र स्वास्थ्य क्षेत्रका कम्पनीहरूलाई विदेशी प्रविधि प्रयोगमा यसअघि नै केही प्रतिबन्ध लगाइएको छ। तर ती प्रतिबन्धको कार्यान्वयन भने क्षेत्र र संस्थाअनुसार फरक रहेको बताइएको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

सेतोपाटीबाट,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने चिनियाँ गुप्तचर निकायको चेतावनी

चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक ...
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एस...
भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा,...
प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ।   नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार ...