नयाँ तृष्णा

चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

Advertisement
काठमाडौं । चीनसहित नेपाल, भुटान, भारत र बंगलादेशका विभिन्न स्थानमा धक्का महसुस गरिएको शक्तिशाली भूकम्पका कारण स्वशासित क्षेत्र तिब्बतमा कम्तीमा पनि एक सय जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी मानिस घाइते भएका छन् । केही दिनदेखि तिब्बतको विभिन्न भागमा भूकम्पका धक्काहरू महसुस गरिएको भए पनि मंगलवार बिहान भने शक्तिशाली भूकम्प गएको थियो । मंगलबार बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पका कारण सिगात्से सहर नराम्रोसँग प्रभावित भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निड पोस्टले जनाएको छ । भूकम्पका कारण तिब्बतको सिगात्से सहरसहित अन्य क्षेत्रसमेत प्रभावित भएकाले भौतिक संरचनाको क्षतिको विवरण आउन भने अझै समय लाग्ने पनि बताइएको छ । अहिलेसम्म १ हजारभन्दा बढी घरहरू काम नलाग्ने गरी भत्किएका छन् । चिसो मौसमका कारण उद्धार तथा राहत वितरण गर्न कठिनाइ भएको चिनियाँ सैनिक अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । भूकम्पपछि चीन सरकारले तिब्बतसँग जोडिएका हिमालहरूमा हिमपहिरो जान सक्ने भएकाले केही समयका लागि विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथालगायत अन्य हिमाल आरोहणमा समेत रोक लगाएको छ । एकाबिहानै भूकम्प गएपछि नेपालको राजधानी काठमाडौंसँगै तिब्बतसँग सीमा जोडिएको धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, सोलुखुम्वु, रामेछाप, ओखलढुंगा, दोलखा, ताप्लेजुड, पाँचथरलगायत जिल्लाका सरकारी निकायलाई सरकारले चनाखो बनाएको थियो । नेपालमा भूकम्पको धक्का कडा महसुस गरिए पनि मानवीय र भौतिक क्षति भने भएको छैन । तिब्बतमा गएको भूकम्पका कारण नेपालमा सरकारी तथा निजी गरी १० वटा भौतिक संरचनामा क्षति पुगेको छ भने एक जना नेपाली नागरिक घाइते भएको गृह मन्त्रालयले जनाएको छ । नेपालमा भने उक्त भूकम्पको मापन ५ दशमलव ३ रिक्टरस्केल बराबरको भएको पनि भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण बारामा एक दर्जनको हाराहारीमा स्कुले बालबालिका बेहोस भएका थिए भने उनीहरूको अवस्था केही समयपछि सामान्य बनेको मन्त्रालयले जनाएको छ । तिब्बतमा भूकम्प गएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न चिनियाँ जनसेनालाई निर्देशन दिनुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरूको खोजी र उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । राष्ट्रपति सीले भूकम्पको अनुगमन र विपद् राहत सामग्री तुरुन्तै बाँडफाँट गर्न, क्षतिग्रस्त पूर्वाधारको मर्मतलाई द्रुत बनाउन, प्रभावित क्षेत्रका बासिन्दालाई आधारभूत आवश्यकता पूरा भएको सुनिश्चित गर्न पनि सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । बिहानको भूकम्पपछि तिब्बतमा लगातार परकम्पहरू गएपछि घर बाहिर रहेका चिनियाँ नागरिकहरू घरभित्र प्रवेश गर्न मानिरहेका छैनन् । प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित बन्दै गएको छ । प्रभावित स्थानमा कठ्याङ्ग्रिने जाडो छ । त्यहाँ उद्धारकर्ताहरूले भवनका भग्नावशेषमा कोही पुरिएका छन् कि भनेर खोजी गरिरहेको र प्रभावित मानिसहरूलाई कम्बल वितरण गरिरहेको भिडियोमा देखिन्छ । चिनियाँ सेनाले राहत पु¥याउन ड्रोनहरू प्रयोग गरिरहेको छ । राष्ट्रपतिद्वारा दुःख व्यक्त मंगलबार बिहान तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी दर्जनौंको मृत्यु भएको र सयौं घाइते तथा ठूलो मात्रामा भौतिक क्षति भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गर्नुभएको छ । तिब्बतको भूकम्प र नेपालका हिमतालको अवस्था नेपालको उत्तरी क्षेत्र र चीनको तिब्बत क्षेत्र भौगर्भिक रूपमा अत्यन्तै कमलो र कमजोर छ भन्ने प्रमाणित भइसकेको छ । भूकम्पले दिने झट्कालाई उक्त क्षेत्रका हिमतालको अवस्थिति र संवेदनशीलतामा भर पर्ने गर्दछ । मंगलबार बिहान तिब्बतको सिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले नेपालका हिमतालहरूमा के कस्तो असर गरेको छ त्यसबारे खोजबिन हुनुपर्ने आवाज उठिरहेको छ । तिब्बतको भूकम्पका कारण नेपाालका हिमतालहरू अहिले नै जोखिममा परिहाल्ने अवस्था नरहेको हिम जलाधारविज्ञ डा. रिजनभक्त कायस्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘नेपालका दुईवटा हिमतालहरू अति जोखिमको अवस्थामा रहेका थिए सरकारले ती तालको व्यवस्थापन गरेकाले अहिले डराइहाल्नुपर्ने अवस्था भने छैन ।’ पछिल्लो अनुसन्धानअनुसार कोशी, गण्डकी र कर्णाली बेसिङमा गरिएको अध्ययनले कुल ३ हजार ६ सय २४ हिमताल भेटिएका थिए । तीमध्ये २ हजार ७० हिमतालहरू नेपालमा रहेका छन् भने १ हजार ५ सय ९ हिमताल चीनमा रहेका छन् । बाँकी रहेको ४५ वटा हिमातल भारतमा रहेको छ । ती तालहरूको विशेषताहरू भूगोल, आकारप्रकार, तिनीहरूको वरिपरिको भौगर्भिक अवस्था र ग्लेसियरको गतिविधि र आकारलाई हेरेर गरिएको अध्ययनले कुल ४७ वटा हिमतालहरू खतराको सूचीमा रहेका छन् । ४७ तालहरूमध्ये पनि नेपालको कोशी बेसिङ क्षेत्रका ४२ हिमताल, गण्डकी बेसिङका ३ हिमताल र कर्णाली बेसिङका २ हिमतालहरूले खतराको घन्टी बजाइरहेको वातावरणविद् नवराज पोखरेलले जानकारी दिनुभयो । भूकम्पले यीबाहेक अन्य तालहरूलाई पनि प्रभाव पार्न सक्ने उहाँले बताउनुभयो । भूकम्पले ताल वरिपरि भएको भूगोल र भूगर्भ परिवर्तन भएमा त्यो फुट्न सक्ने सम्भावना हुने वातावरणविद् पोखरेल बताउनुहुन्छ । भूकम्पले गर्दा हिमताल वरिपरिको भूगर्भलाई हल्लाउने र त्यसले वरिपरिको भूभागलाई फुटाउन सक्ने सम्भाबना बढी हुने पनि उहाँले जानकारी दिनुभयो । ‘उक्त क्षेत्रमा तापक्रम परिवर्तन भयो भने हिमतालको आयतन बढाउन सक्ने र त्यसको कारण हिमताल फुट्न सक्ने सम्भावनालाई बढाउँछ’ –पोखरेल बताउनुहुन्छ । नेपालमा भूकम्पको इतिहास –नेपालमा विसं १३१० मा ठूलो भूकम्प गएको पाइन्छ । त्यसले थुप्रै देवालय र घर भत्किए । भूकम्पमा परी राजा अभय मल्लको समेत ज्यान गएको थियो । –१३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि भवन भत्काउनुका साथै महामारी ल्यायो । १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए । –१७३८ को भूकम्पले धेरै घर र मन्दिर भत्किए । –१८६६ को भूकम्पले पशुपतिनाथको टेबललाई केही गरेन तर अन्य थुप्रै मन्दिरलाई पाताल बनाइदियो । –१८९० मा गएको महाभूकम्पले दुई वटामध्ये एउटा धरहरा पाताल बन्यो । पाटन बालकुमारीको डड् मन्दिरबाट भूकम्प गएको २१ दिनपछि मूर्ति निकालिएको थियो । दरबार, मठमन्दिर थुप्रै भत्किए । त्यस भूकम्पले १८ हजार घरमा क्षति पुगेको अनुमान गरिएको छ । –१९९० को भूकम्प ८.३ रेक्टर स्केलको थियो । त्यसमा ८ हजार ४ सय ३२ जनाको ज्यान गएको थियो भने १८ हजार ७ सय १३ जना घाइते भएका थिए । त्यस बेला उपत्यकामा १२ हजार, पहाडमा २४ हजार ७ सय ५२ घर र तराईमा ३ हजार ७ सय ५४ पर पूर्ण क्षति भएका थिए । त्यस्तै, उपत्यकामा २५ हजार ६५ घर, पहाडमा ७३ हजार २ सय ५३ घर र तराईमा ५ हजार ६ सय १० घर आंशिक क्षति भएका थिए । –२०३७ साउन १४ गते आएको भूकम्प ६५ रेक्टर स्केलको थियो । बाङ केन्द्रबिन्दु भएको यो भूकम्पले १ सय ७८ जनाको ज्यान लियो भने ४० हजारभन्दा बढी घरलाई क्षति बनायो । –२०४५ भदौ ५ गते ६.२ रेक्टर स्केलको भूकम्प उदयपुर केन्द्रबिन्दु भएर गएको थियो । यो भूकम्पमा परी ७ सय २१ जनाको मृत्यु भएको थियो । ६ हजार २ सय १३ जना घाइते भएका थिए । त्यस बेला १४ हजार २ सय ६४ घर पूर्ण क्षति, ३३ हजार २ सय ५२ घर चिरा परेर प्रयोग गर्न नमिल्ने भएका थिए । –२०६५ मंसिर ३१ गते हुम्ला केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गयो । यसले मानवीय क्षति कम गरे पनि भौतिक क्षति पु¥याएको थियो । –२०६८ असोज १ गते पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएको भूकम्पले ठूलै क्षति गरेको थियो । त्यसको मापन ६.८ रेक्टर स्केलको गरिएको थियो । ताप्लेजुङ र भारतको सिक्किम केन्द्रबिन्दु भएको यो भूकम्पका कारण नेपालमा छ जनाको मृत्यु हुनुका साथै साढे छ हजार घर पूर्ण क्षति भएका थिए । १२ हजारभन्दा बढी घरमा आंशिक क्षति तुल्यायो भने डेढ हजारभन्दा बढी सार्वजनिक भवन पनि क्षति भए । –२०७२ वैशाख १२ गते ११ः५६ बजे गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएको यो भूकम्पका कारण ८ हजार ९ सय ७० जनाको मृत्यु हुनाका साथै २२ हजार ३ सय २ जना घाइते भएका थिए । –वैशाख १३ गते दोलखा केन्द्रबिन्दु भएर ६.२ रेक्टर स्केलको, वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा ८ लाख ६६ हजार २ सय ७ निजी घर पूर्ण क्षति र ४७ हजार २७ घर आंशिक क्षति भएका थिए । –साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको सोही वर्षको कातिक २३ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो । –२०७७ साल भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गयो । –२०८० कात्तिक १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गएको थियो । १ सय ३५ घर क्षतिग्रस्त भएका थिए ।
न्युज अफ नेपाल,
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

सीमा बहसमा राजेश हमालको स्पष्ट धारणास् परिपक्व नेतृत्वको खाचो

  अभिनेता राजेश हमाल ले नेपालको सीमा विवादसम्बन्धी बहसमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ ...
शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नुहुँदैन: सुशीला कार्की

काठमाडौँ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नह...
कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

  झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् । हराएक...
सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

सम्पत्ति विवरण मागेपछि अध्यक्ष ओली आक्रोशित : ‘खरानी छ, उठाएर लैजा सरकार’

  काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भदौ २३ र २४ गतेको घटना छानबिनका ल...