मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति नगरवासीले असन्तुष्टि जनाएका छन्। नगरपालिकाले सामुदायिक विकास मञ्चलाई सार्वजनिक सुनुवाइ सञ्चालनको जिम्मा दिएको भए पनि कार्यक्रममा नगरवासीको सहभागिता अत्यन्त न्यून देखिएको थियो।
सार्वजनिक सुनुवाइमा अधिकांश सहभागी कर्मचारी, सञ्चारकर्मी तथा केही सीमित व्यक्तिमात्र उपस्थित भएपछि कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ। सहभागीहरूले सार्वजनिक सुनुवाइ केवल औपचारिकता (कर्मकाण्ड) मा सीमित भएको टिप्पणी गरेका छन्।
कार्यक्रमका क्रममा शिक्षा, स्वास्थ्य तथा प्रशासनिक सेवासँग सम्बन्धित विभिन्न समस्याहरू गम्भीर रूपमा उठाइएका थिए। विशेषगरी शिक्षा क्षेत्रका कमजोरीबारे सहभागीहरूले तीखा प्रश्न उठाए पनि नगर शिक्षा प्रमुख होमनाथ भण्डारीले चित्तबुझ्दो जवाफ दिन नसकेको सहभागीहरूको भनाइ थियो। भण्डारीले भने नगरपालिकाले शिक्षा क्षेत्रको सुधार र गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम गरिरहेको बताएका थिए।
यस्तै, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सार्वजनिक सुनुवाइमा उठाइएका समस्याहरूको पहिचान गरी समाधानतर्फ आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको समृद्धिका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै केही समस्याको समाधान भइसकेको र बाँकी समस्यालाई प्राथमिकतामा राखेर क्रमिक रूपमा समाधान गरिने जानकारी दिए।
सार्वजनिक सुनुवाइमा नगरवासीको न्यून उपस्थितिले कार्यक्रमको उद्देश्य र प्रभावकारितामाथि प्रश्न उठाएको छ भने सहभागीहरूले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ बढी सहभागितामूलक, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।


