असार ११ (बिहीबार) ,

मेचीनगर, श्रम संस्कृति पार्टी, मेचीनगर वडा नं. ६ को आयोजनामा आज काँकरभिट्टा पूर्वी नाकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

बिहान ७ बजेदेखि नेपाल–भारत पूर्वी नाका अन्तर्गत मेची पुलको सीमाक्षेत्रबाट सुरु गरिएको सरसफाइ अभियानमा पार्टीका नेता–कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

वडा अध्यक्ष जनक बस्नेतले पूर्वी नाका विभिन्न राष्ट्रबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रलाई स्वच्छ, सुन्दर र रमणीय बनाउनु आवश्यक रहेको बताए। उनले यस अभियानको सुरुआत यहाँबाट गरिएको र आगामी दिनमा मेचीनगरका अन्य वडाहरूमा पनि सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टी मेचीनगर अध्यक्ष पदम दनुवारले निर्माण, सरसफाइ तथा देश र जनताको हितका लागि पार्टी सधैं अग्रसर रहने बताए। उनले सामाजिक उत्तरदायित्वका यस्ता अभियानलाई निरन्तरता दिइने उल्लेख गरे।

सरसफाइ कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरूको समेत सहभागिता रहेको थियो। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मेचीनगर नगरपालिकाका प्रतिनिधिहरू तथा श्रमदाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगरपालिकाले संकलित फोहोर व्यवस्थापनका लागि ट्र्याक्टर उपलब्ध गराएर अभियानमा सहयोग गरेको जनाएको छ।

स्थानीय स्तरमा वातावरण संरक्षण, सरसफाइ र सौन्दर्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानलाई सहभागीहरूले सकारात्मक र उदाहरणीय पहलका रूपमा लिएका छन्।




