५ जेष्ठ २०८३, मंगलवार,
काँकरभिट्टा । मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा करुणा फाउण्डेशन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र शुभ बिहानी मिलीजुली समूहको सहकार्य तथा समन्वयमा “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मेचीनगर–६ स्थित सामुदायिक भवनको सभाहलमा सम्पन्न कार्यक्रममा अपाङ्गता रोकथाम, अपाङ्गताको परिचय तथा अपाङ्गता परिचयपत्र (कार्ड) का प्रकार, मिलीजुली समूहको आवश्यकता, यसको फाइदा–बेफाइदा, बिऊपूँजी परिचालन तथा अपाङ्गता भएका व्यक्तिहरु सहकारीमा आबद्ध हुनुका कारण र यसका सकारात्मक तथा नकारात्मक पक्षबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा वक्ता कुशल पोख्रेलले भिडियो डकुमेन्ट्रीसहित विभिन्न विषयमा प्रस्तुति दिएका थिए। उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, सामाजिक समावेशीकरण, आत्मनिर्भरता तथा सहकारीमार्फत आर्थिक सशक्तीकरणका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए।
कार्यक्रमको सञ्चालन सिवीआरएफएसकी रोश्नीका सुनुवारले गरेकी थिइन्। कार्यक्रममा ललित बहादुर तामाङ लगायतका वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सहभागिता अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा वडा नम्बर ६ का अपाङ्गता भएका व्यक्तिका अभिभावक, स्थानीयवासी तथा अन्य सरोकारवालाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन शुभ बिहानी मिलीजुली समूहका अध्यक्ष बिष्णु प्रसाई ले सहभागी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै गरेका थिए।

