Skip to main content

नयाँ तृष्णा

स्वार्थी सहरको एउटा कथा, “खाते”

Advertisement

 

– होमराज राई,

ब्यस्त सहरका गल्ली–गल्ली र सडकहरूमा मौन पीडाहरू भौतारिरहेका हुन्छन्। कतै बिरक्तिएका मनहरू छन्, कतै रित्तिएका आशाहरू, त कतै पागलपनले भरिएका जीवनहरू। म कहिलेकाहीँ सडकको किनारमा उभिएर फर्केर हेर्छु,– खै, यी भीडहरू कहाँ पुग्न हतारिएका हुन्? कसैलाई एकक्षण पनि फुर्सद छैन, कसैले कसैको लागि सोच्ने समय छैन।

तर यिनै भीडभित्रका मानिसहरू पनि त मानव कोखबाटै जन्मेका हुन्। अनि किन त्यही मानव कोखबाट जन्मिएका केही नाबालकहरू आज पशुजस्तै जीवन बिताउन बाध्य छन् ?

यो त्यस्तै एउटा बालकको कथा हो—सहरले “खाते” भनेर चिन्ने एउटा जीवन।

ऊ करिब दुई वर्षको हुँदादेखि नै सडक र फोहोरका थुप्राहरूबीच हुर्किएको थियो। न उसको नाम थियो, न आमा–बुबाको कुनै अत्तोपत्तो। कसैले “खाते” भन्थ्यो, कसैले “भतुवा कुकुर” भनेर हेला गर्थ्यो। तर सत्य त यही थियो—ऊ पनि मानव कोखबाटै जन्मिएको एक निर्दोष बालक थियो।

फाटेका, दुर्गन्धित लुगाभित्र लुकेको उसको शरीर घाउले भरिएको थियो। उसको संसार भनेकै फोहोरको थुप्रो र त्यहाँ घुम्ने भुसिया कुकुरहरू थिए। सहरका मानिसहरूले फालेका जुठा खानाका लागि ऊ कुकुरहरूसँग लुछातानी गर्थ्यो। बिस्तारै, ती कुकुरहरू नै उसका साथी, परिवार र सहारा बने।

उसका घाउहरू चाटेर सफा गर्ने पनि ती कुकुरहरू नै थिए।

जब ऊ अरू बालबालिकासँग नजिकिन खोज्थ्यो, उनीहरू उसलाई हेला गर्थे—
“ए गन्धे खाते! यहाँ नआइज, कुकुरहरूसँग जा!”

उनीहरूले खानेकुरा देखाएर जिस्क्याउँथे, हाँस्थे। ऊ भने आफ्नै आँखा रसाउँदै, थुक निल्दै फर्किन्थ्यो।

सात वर्षको उमेर पुग्दासम्म ऊ सोच्न थालिसकेको थियो—
“म पनि त यिनीजस्तै मान्छे हुँ, किन मेरो जीवन यस्तो भयो?”

साँझ पर्नासाथ सहरका मानिसहरू आफ्ना अग्ला घरभित्र पस्छन्, तर ऊ भने अँध्यारो सडकसँगै सुत्न बाध्य हुन्थ्यो। कहिलेकाहीँ त फोहोरमा पनि केही खान नपाएर भोकै सुत्थ्यो।

सहरले उसलाई नाम दिएको थियो—“भुसिया कुकुर”।

कहिलेकाहीँ ऊ आफैँ पनि सोच्थ्यो—“साँचै म कुकुर पो हुँ कि ?”

समाज अरूलाई नाम दिन निकै छिटो हुन्छ, तर कसैले उसको वास्तविक पीडा बुझ्ने प्रयास गरेन।


एक दिन चिसो साँझमा, सडकको किनारमा ऊ काँपिरहेको अवस्थामा सुतिरहेको थियो। त्यतिबेला एउटा गाडी त्यहाँ रोकिन्छ। एक यात्री तल झर्छ, उसलाई उठाउँछ र सोध्छ—

“नानी, तिम्रो नाम के हो ?”

बालकको जवाफ सरल थियो—
“सबैले मलाई खाते भन्छन्, अरू केही थाहा छैन।”

त्यो उत्तरले यात्रिको मन चिरा–चिरा बनायो। उसले सहरतर्फ हेरेर मनमनै भन्यो—
“ए स्वार्थी सहर! तँ आफ्नै लागि मात्र कति बाँच्छस्? खै तेरो मानवता ?”

त्यसपछि उसले बालकलाई आफ्नो साथमा काठमाडौं लग्यो।

नुहाइदियो, सफा लुगा लगाइदियो, घाउको उपचार गरायो, राम्रो खाना खुवायो। पहिलो पटक, उसले मानव जीवनको स्वाद चाख्यो।

त्यस बालकको नयाँ नाम राखियो—“नबिन”

भोलिपल्टै विद्यालयमा भर्ना गरियो। नबिनले पढाइमा मेहनत गर्‍यो। समय बित्दै गयो, ऊ उच्च शिक्षा पूरा गरेर अमेरिका जाने अवसर पायो। त्यहाँ दस वर्षसम्म अध्ययन र काम गर्‍यो।

तर, विदेशको सुविधा र सफलताभित्र पनि उसको मन कहिल्यै शान्त भएन। हरेक रात उसले सपनामा त्यही सडक देख्थ्यो—भोकले चिच्याइरहेका बालबालिका, आँशु बगाइरहेका अनुहारहरू।

एक दिन उसले निर्णय गर्‍यो—
“म केवल आफ्ना लागि होइन, अरूका लागि पनि बाँच्नुपर्छ।”

नबिन नेपाल फर्कियो। आफ्नो पालक बुवालाई सबै कुरा सुनायो। दुवैले मिलेर एउटा महान अभियान सुरु गरे—देशभरका अनाथ र बेसहारा बालबालिकाहरूका लागि विद्यालय स्थापना गर्ने।

आज, कहिल्यै सडकमा “खाते” भनेर हेला गरिएको त्यो बालक एक सफल व्यक्ति मात्र होइन, हजारौं बालबालिकाको भविष्य निर्माण गर्ने मार्गदर्शक बनेको छ।


“२०७१ सालमा कोरेको कथा,”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

त्रिभुवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोख...
बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बेथेल मण्डली दाङको को ७ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

  घोराही, दाङ । साउन ६, २०८३, दाङको घोराही उप–महानगरपालिका–१३, दुम्रगाउँस्थित बेथेल मण्डली दाङको ७ औं वार्षिकोत्सव समा...
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि

४ साउन , झापा । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्...
विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

विश्वकप फाइनलको टिकट ३५ करोडसम्म, अमेरिकाकै इतिहासको सबैभन्दा महँगो खेलकुद प्रतियोगिता

  काठमाडौं ।   न्युयोर्कको मेटलाइफ स्टेडियममा आइतबार अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासकै सब...