काँकरभिट्टा । झापाको मेचीनगर काँकरभिट्टामा मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरोकारवालासँग समन्वयात्मक बैठक सम्पन्न भएको छ।
‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यको अभियान’ अन्तर्गत आफन्त नेपाल, काँकरभिट्टा झापाको आयोजनामा तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नयाँ बानेश्वर काठमाडौंको सौजन्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम मेचीनगर–६ स्थित घारी रेस्टुरेन्टको सभाहलमा भएको थियो।
कार्यक्रमको सञ्चालन कञ्चना मगरले गरेकी थिइन्। आफन्त नेपालका शाखा प्रमुख तथा अध्यक्ष मात्रिका गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मेचीनगर–६ का कार्यवाहक अध्यक्ष ध्रुवकुमार राई सहभागी थिए। कार्यक्रममा प्रहरी निरीक्षक कमल विष्ट, माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेलगायतले मानव बेचबिखन, लैङ्गिक हिंसा न्यूनीकरण तथा पीडितको संरक्षणका विषयमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी सरोकारवाला संघसंस्थाका प्रतिनिधि, सशस्त्र प्रहरी बल तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मानव बेचबिखन तथा लैङ्गिक हिंसा रोकथामका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाबीच थप प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा आफन्त नेपालले आफ्नो संस्थाको दृष्टिकोण, ध्येय तथा लक्ष्यबारे समेत जानकारी गराएको थियो। संस्थाको दृष्टिकोण मानव बेचबिखन र लैङ्गिक हिंसारहित समाज निर्माण गर्नु रहेको जनाइएको छ। त्यस्तै, सम्मानित र सकारात्मक आशापूर्ण जीवनयापन गर्न सक्षम बनाउन आवश्यक ज्ञान तथा सीप प्रदान गर्दै मानव बेचबिखनलगायत सामाजिक असमानताविरुद्ध समुदायलाई संगठित गर्ने संस्थाको ध्येय रहेको प्रस्तुत गरिएको थियो।
संस्थाले जोखिममा रहेका तथा प्रभावित महिला र किशोरीहरूको सुरक्षित उद्धार, संरक्षण, पुनर्स्थापना तथा आत्मनिर्भर, सम्मानित र स्वाभिमानी जीवन सुनिश्चित गर्ने लक्ष्य लिएको जानकारी गराइएको थियो।
कार्यक्रममा संस्थाकी कर्मचारी भरोसा खतिवडाले पछिल्लो अवधिमा आफन्त नेपालमार्फत सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधिको प्रगति विवरण प्रस्तुत गरेकी थिइन्। प्रस्तुत विवरणअनुसार संस्थाले सूचना सम्प्रेषण, परामर्श सेवा, उद्धार तथा बचावट, प्रहरीको सहयोगमा घटना व्यवस्थापन, आपतकालीन आवास गृह सेवा, पारिवारिक पुनर्मिलन, सेफ होम सिफारिस, मुद्दा दर्ता तथा कानुनी सहायता र फोन फलोअपलगायतका सेवाहरू प्रदान गर्दै आएको छ।
प्रस्तुत विवरणमा सूचना सम्प्रेषणतर्फ १ हजार ४ सयभन्दा बढी, परामर्श सेवातर्फ ५ सय तथा उद्धार तथा बचावटका ४० भन्दा बढी घटनामा सहयोग गरिएको उल्लेख गरिएको थियो। त्यस्तै, आपतकालीन आवास गृह सेवा, पारिवारिक पुनर्मिलन, कानुनी सहायता तथा फोन फलोअपलगायतका सेवामार्फत जोखिममा रहेका तथा प्रभावित व्यक्तिहरूलाई सहयोग पुर्याइएको जानकारी दिइएको थियो।
कार्यक्रममा मानव बेचबिखन तथा लैङ्गिक हिंसाबाट प्रभावित र जोखिममा रहेका व्यक्ति तथा समुदायलाई समयमै सूचना, परामर्श, उद्धार, संरक्षण तथा कानुनी सहायता उपलब्ध गराउन सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।